मुस्ताङ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बाढी प्रभावितका लागि राहत संकलन भइरहेको छ। गत साउन २८ गते कागखोलामा आएको बाढीबाट जायजेथा गुमाएकाका लागि हालसम्म ८० लाख सङ्कलन भएको हो।
बस्ती पुनःस्थापना तथा संरक्षण समितिका संयोजक फेन्चोक छेप्तेन गुरुङका अनुसार स्थानीय तह, प्रदेश सरकारलगायत सरकारी निकायबाट पनि राहत प्राप्त भएको छ ।
बाढीबाट पूर्णरुपमा घर क्षति भएका नौ परिवारका लागि कागबेनी नजिकै एक्लेभट्टीमा अस्थायी बास निर्माण थालिएको छ । प्रधानमन्त्री तहबाटै कागबेनीको पुनःनिर्माणमा प्रतिबद्धता पनि आइसकेको छ ।
बाढीबाट सामान्य क्षति भएका घरको मर्मतसम्भार स्थानीय आफै पनि गरिरहेका छन् । बाढी पसेको ठाउँको सफाइदेखि कागखोलालाई पुरानै धारमा फर्काउने काम भइसकेको छ ।
गृहमन्त्री, मुख्यमन्त्रीलगायतले बस्ती पुनःनिर्माण र बाढीप्रभावितको राहतमा कुनै कमी हुन नदिने बताएकाले आफूहरु आशावादी रहेको स्थानीय बताउँछन् ।