सिराहा। कर्जन्हा नगरपालिका–४ भुल्के गाउँका १० मुसहर परिवारलाई नयाँ पक्की घर हस्तान्तरण गरिएको छ।
भुल्के गाउँमा एक कार्यक्रमबीच कर्जन्हा नगरपालिकाका प्रमुख भोलाप्रसाद पोखरेल र उपप्रमुख लक्ष्मीकुमारी श्रेष्ठले घरको साँचो सम्बन्धित परिवारलाई हस्तान्तरण गरेका हुन्।
घर हस्तान्तरण गर्दै नगरप्रमुख पोखरेलले निर्वाचनमा आफूले गरेको प्रतिबद्धताबमोजिम घर हस्तान्तरण गर्न पाउँदा हर्षित भएको बताए।
धनगढीमाई नगरपालिका– २ भवानीपुरस्थित भवानी एकीकृत विकास केन्द्रको सहजीकरणमा कर्जन्हा नगरपालिका क्षेत्रमा निर्माण गरिएका ५५ घरमध्ये पहिलो चरणमा कर्जन्हा– ४ का १० दलित परिवारलाई घर हस्तान्तरण गरिएको वडाध्यक्ष प्रताप विश्वकर्माले जानकारी दिए।
भुल्के गाउँका दिवंगत रामपृत नायक र कारिचरन नायकको परिवारले प्रतिपरिवार ६ धुरका दरले निःशुल्क जग्गा उपलब्ध गराएपछि १० मुसहर परिवारका लागि घर निर्माण सम्भव भएको हो। केन्द्रको सहजीकरणमा कर्जन्हा– ३ मा पाँचवटा तथा ५, ८, ९ र १० नं। वडामा १०(१० वटाको दरले घर निर्माण भइरहेका छन्। आगामी १५ पुससम्म निर्माण सम्पन्न गरी सम्बन्धित लाभग्राहीलाई हस्तान्तरण गरिने बताइएको छ।
कर्जन्हा नगरपालिकाको आ.व ०७९ ८० मा फुसको छाना विस्थापित कार्यक्रमअन्तर्गत नगरपालिकाको एक करोड ७२ लाख ७३ हजार नौ सय २५ रुपैयाँ, हिल्टी फाउन्डेसनको सहयोगमा ह्याबिट्याट फर ह्युमानिटी नेपालको सुरक्षित आवास कार्यक्रमअन्तर्गत ५० लाख र लाभग्राही घरधनीहरूको ३९ लाख ३० हजार छ सय ९३ रुपैयाँबराबरको श्रमदान गरी दुई करोड ६२ लाख चार हजार छ सय १८ रुपैयाँको लागतमा निर्माण भइरहेकामध्ये १० घर हस्तान्तरण गरिएको हो।