काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको संघीय संसद्ले दिगो विकास लक्ष्यलाई केन्द्रबिन्दुमा राखेर अघि बढेको बताएका छन्। अंगोलाको लुवान्डामा आयोजित अन्तर व्यवस्थापपिका संघ (आइपीयू) को १४७ औँ महासभालाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले संसद्मा आउने विधेयकहरूलाई दिगो विकास लक्ष्यको दृष्टिकोणबाट मापन गरेर तिनीहरूको औचित्य परिक्षण हुँदै आएको बताए ।
नेपालको संघीय संसद्को तर्फबाट सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले संसद्ले दिगो विकासका लक्ष्य हासिल गर्नका लागि सरकारलाई निरन्तर दिशानिर्देश गरिरहेको पनि बताए ।
उनले भने, ‘दिगो विकासका लक्ष्य हासिल गर्न सरकारले कार्यान्वयन गर्नुपर्ने विषयहरूमा संसद्ले सरकारलाई निरन्तर खबरदारी गरेको छ । संघीय संसद्का दुई सदनमध्येको राष्ट्रिय सभामा दिगो विकास तथा सुशासन समिति गठन गरिएको छ । यो समितिले दिगो विकास लक्ष्यका प्रगति र कार्ययोजनाका अवस्थाबारे तीनवटै तहका सरकारसँग निरन्तर छलफल गर्ने र आवश्यक नीतिगत निर्देशन दिने काम गर्दै आएको छ ।’
अध्यक्ष तिमिल्सिनाले नेपालले दिगो विकास लक्ष्यहरूलाई मूलभूत रूपमै आन्तरिकीकरण गरेको बताउँदै संविधानको प्रस्तावनामै नेपाली जनताको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षालाई लिपिबद्ध गरिएको उल्लेख गरेका छन् ।
सामाजिक न्याय र समावेशितालाई मौलिक हकका रूपमा संरक्षण गर्दै सबै किसिमका भेदभाव, असमानता, शोषण र अन्यायको अन्त्य गर्ने नीति राज्यले अवलम्बन गरेको अध्यक्ष तिमिल्सिनाको भनाइ छ । उनले नेपालले तीन तहको संघीय शासन प्रणाली अवलम्बन गरेसँगै संघमा रहँदै आएको राष्ट्रिय योजना आयोगका अतिरिक्त प्रदेशहरूमा प्रदेश नीति तथा योजना आयोग स्थापना गरी केन्द्रीय तथा प्रादेशिक योजनाहरू दिगो विकास लक्ष्यसँग तादाम्य हुने सुनिश्चित गरेको बताए ।