कास्की। फेवातालको बिचमा रहेको प्रसिद्ध ताल बाराही मन्दिरको पुनः निर्माण गर्न सुरु गरिएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मन्दिरको जग पूजा गर्दै शिलान्यास गरेका हुन्।
शिलान्यासका क्रममा प्रमुख आचार्यले पोखराको गहना तालबाराही मन्दिरको संरक्षण गर्ने जिम्मेवारी पोखरेली र तीनै तहका सरकारको भएको बताए। उनले पुरानै स्वरूपमा मन्दिर पुनः निर्माण गरी आकर्षक सम्पदासहित भावी पुस्ताले समेत अध्ययन गर्ने थलो यसलाई बनाउनुपर्ने बताए।
उनले भने, “९ करोड रुपैयाँ लागतमा मन्दिर पुन निर्माण भएपछि तालबाराही अझ आकर्षक र पर्यटकीय केन्द्र बन्नेछ, यसका लागि महानगर आवश्यक समन्वय र साथ दिन तयार छ।”
पुरातत्त्व विभागको समन्वयमा हुने पुनर्निर्माण दुई वर्षभित्र सक्ने लक्ष्य छ । मन्दिर चार रोपनीमा फैलिएको छ ।
२०७२ को महाभूकम्पका कारण भुईँ तलासहित तीन तले मन्दिर तीन इन्च दक्षिणतर्फ ढल्किएको थियो । मन्दिर ढल्किएपछि ताल बाराहीमन्दिर गुठी व्यवस्थापन समितिले पुनः निर्माण थालेको हो ।