जनकपुरधाम। नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले जनकपुरधाम–अयोध्या हवाई उडानका लागि सरकारसँग आग्रह गरेका छन्। जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै निधिले धार्मिक पर्यटनको माध्यमबाट देशमा आर्थिक समृद्धि हासिल गर्न ऐतिहासिक धार्मिकस्थल जनकपुरधाम र भारतको अयोध्यालाई हवाई सेवामार्फत जोड्न सरकारलाई आग्रह गरेका हुन्।
उनले भने,“विगत दुई तीन वर्षदेखि माता जानकीको जन्मस्थल जनकपुर र श्रीराम जन्मस्थल भारतको अयोध्यालाई हवाई सेवामार्फत जोड्न सकिने सम्भावनाबारे विभिन्न चरणमा कुराकानी भइरहेको थियो । मैले जानकारी पाएअनुसार निजी क्षेत्रको बुद्ध एअर सातामा तीन दिन हवाई उडान भर्न तयार रहेको छ। अब वायु सेवा निगम, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहलकदमी लिएर उडान अनुमति, पूर्वाधार निर्माण र भारत सरकारसँग आवश्यक सम्झौता गर्न जरुरी छ । यसका लागि म सम्बद्ध पक्षसँग विशेष अनुरोध गर्न चाहन्छु ।”
अयोध्यामा निर्माणाधीन श्रीराम मन्दिरको सन् २०२४ जनवरीमा भारतीय प्रधानमन्त्रीले प्राण प्रतिष्ठा (समुद्घाटन) गर्ने कार्यक्रम रहेको र तत्पश्चात् त्यहाँ बढ्ने धार्मिक पर्यटकीय गतिविधिबाट लाभ लिन हवाई सेवा जरुरी रहेको भन्दै नेता निधिले त्यसभन्दा अघि नै नेपाल सरकारले आवश्यक पहलकदमी लिनुपर्ने आवश्यकता औँल्याए।