काठमाडौं। आमाछोदिङमो गाउँपालिका—१ हाकुका बासिन्दाले चिलिमे–त्रिशूली २२० केभी प्रसारणलाइन र सबस्टेसन निर्माणका लागि बाहिरबाट श्रमिक नल्याउन चेतावनी दिएका छन्। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँगै भेटेर शनिबार स्थानीयले गाउँमै प्रशस्त कामदार भएको भन्दै बाहिरबाट नल्याउन चेतावनी दिएका हुन्।
निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायतको टोलीले आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ, वडाध्यक्ष निमा दिण्डु तामाङको उपस्थितिमा यसबारे स्थानीयबासी र कार्यारत श्रमिकसँग छलफल गरेका थिए। छलफलका क्रममा गाउँमा काम गर्ने मान्छे प्रशस्तै भएपनि निर्माण कम्पनीले काम नलगाएको र समयमै पारिश्रमिक पनि भुक्तानी नदिएको उनीहरुको गुनासो थियो ।
घिसिङले भने थुप्रै टावर बनाउन र तार तान्न बाँकी रहेकाले बाहिरको श्रमिक ल्याउन दिन वा स्थानीय रुपमा आवश्यक श्रमिक व्यवस्था गरेर नियमित काम गर्न आग्रह गरेका थिए । उनले काम रोकेर मेला, पर्व र पारिवारिक समारोहमा जाँदा आयोजनालाई ठूलो हानी हुने बताए । उनले आगामी साउनभित्र सक्ने गरी काम धमाधम काम गर्न आग्रह समेत गरेका छन्।
रसुवा तथा नुवाकोटमा निर्माणाधीन र निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाहका लागि बनिरहेको यो आयोजनामा अहिलेसम्म समग्र ६० प्रतिशत मात्रै काम सकिएको छ । आयोजनाका अनुसार धेरै काम बाँकी भएपनि बाहिरबाट श्रमिक लगेर काम लगाउने विषयमा स्थानीयले असहमति राख्दै आएका कारण काम अवरुद्ध भएको छ।