तनहुँ। जिल्लाको ब्यास नगरपालिका–११ मा सञ्चालित बाराही–रानीमार्ग सडकको कालोपत्र लक्ष्य अघि नै सम्पन्न भएको छ ।
विसं २०८० फागुन ११ गते सम्पन्न गर्ने गरी सम्झौता गरेको मङ्गलादेवी सुवास कन्स्ट्रक्सन कम्पनीले आठ महिनाको अवधिमा निर्माण सम्पन्न गरेको हो ।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय तनहुँले योजनाको निर्माण प्रक्रिया अघि बढाएको हो ।
मङ्गलादेवी सुवास कन्स्ट्रक्सन प्रालि र पूर्वाधार विकास कार्यालय तनहुँबीच विसं २०७९ फागुन ११ गते रु चार करोड ४१ लाख ५० हजार ६०८ मा ठेक्का सम्झौता भएको थियो । उक्त मार्गले व्यास–११ का स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुने छन् ।
उक्त वडाको रानीगाउँदेखि पराशर मार्गलाई जोड्दै बराहखोला, निर्बु, दुम्सीचौर, सेवर हुँदै पृथ्वीराजमार्गको तालघरेमा जोडिने वडाध्यक्ष दलबहादुर दुराले जानकारी दिए । यसबाट एक हजार बढी स्थानीय बासिन्दा लाभान्वित हुने छन् ।
ढिलासुस्तीका कारण विकास निर्माणका आयोजना प्रभावित बनिरहेको अवस्थामा उक्त निर्माण कम्पनीले समय अगावै काम सम्पन्न गरी उदाहरण प्रस्तुत गर्न सफल भएको छ ।
काममा तीव्रता दिएका कारण सम्झौता अगावै गत असोज महिनामा कालोपत्र सकिएको निर्माण कम्पनीले जनाएको छ।