काठमाडौं। बागलुङको गलकोट नगरपालिकामा निर्माणाधीन ९.६ मेगावाटको दरम खोला जलविद्युत आयोजनाको काम ६० प्रतिशत पूरा भएको छ। दरम खोला हाइड्रो इनर्जी कम्पनीले निर्माण गरिरहेको आयोजनाको आधाभन्दा बढी काम सम्पन्न भएको हो।
कम्पनीका सञ्चालक हरिप्रसाद सापकोटाका अनुसार आयोजनाको बाँध, पेनस्टक पाइप, विद्युतगृह लगायत सबै क्षेत्रको काम एकसाथ भइरहेको छ।
उनका अनुसार बाधँ क्षेत्रको काम अब करिब ५ प्रतिशत मात्र बाँकी छ। पाइप आइनपुगेका कारण ४.२ किलोमिटर लामो पेनस्टक पाइप लाइनको काम भने हाल रोकिएको छ। पेनस्टक पाइप आयोजना स्थलमा आएपछि जडान गर्न सुरु गरिने उनले जानकारी दिए।
आयोजना प्रमुख शिशिर देवकोटाका अनुसार विद्युतगृहको पनि अर्थिङ राख्ने तयारी भइरहेको छ। उनका अनुसार विद्युतगृहको पनि काम १५ महिनाभित्र पूरा गरिनेछ। आयोजनाको सबै काम पूरा गरेर अबको डेढ वर्षभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको पनि देवकोटाले जानकारी दिए।
कम्पनीले विद्युत विकास विभागबाट २०७३ माघ २३ गते उत्पादन अनुमतिपत्र लिए संरचना निर्माण गर्न सुरु गरेको थियो। आयोजनाबाट उत्पादन भएको विद्युत, विद्युत प्राधिकरणका हरिचौर सबस्टेसनमा जोडिनेछ।
आयोजना सम्पन्न गर्न २ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ। आयोजनामा ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपूजी लगानी छ।