तनहुँ। तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीमा भानुगृह निर्माण हुने भएको छ। आदिकवि भानुभक्त आचार्यको जन्मथलोमा भानुभक्तको घर निर्माण गर्न लागिएको हो ।
विसं २०७३ चैत २२ गते पश्चिमाञ्चल विकास मञ्चले भानुगृहको शिलान्यास गरेको थियो । शिलान्यास भएको सात वर्षपछि भानुगृहको काम सुरु हुन लागेको हो।
आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको सक्रियतामा काम पुनः सुरु हुन लागेको हो।
भानुगृह निर्माणका लागि मञ्चका तर्फबाट आर्थिक सङ्कलनसमेत भएको छ। सात वर्ष अगाडि भानुगृहको लागत रु ६८ लाख अनुमान गरिएको थियो । अहिलेको अवस्थामा रु एक करोड जति पुग्ने अनुमान गरिएको छ।
समितिले शिखरकटेरीमा तारबार र सिसी क्यामरासमेत जडान गर्दैछ । यही ठाउँमा रामायण भवन निर्माण भइसकेको छ ।
यसअगाडि कच्ची बाटो, पानी र बत्तीको समस्यालगायतका कारणबाट भानुगृहको काम अगाडि बढ्न सकेको थिएन ।