काठमाडौं। स्थानीयबासीको अवरोध हटेपछि म्याग्दीमा निर्माणाधीन १४ मेगावाटको घारखोला जलविद्युत आयोजनाको काम सुचारु भएको छ। स्थानीयबासीले राखेको मागका सम्बन्धमा छलफलबाट समस्याको समाधान खोज्ने सहमति जुटेपछि अवरुद्ध भएको निर्माण सुचारु भएको हो।
स्थानीयबासीले जिल्लाको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने सडक स्तरोन्नति गरिदिनु पर्ने माग राखेर आयोजनाको निर्माण ठप्प पारेका थिए। २ दिन ठप्प भएको निर्माण बिहीबार साँझबाट पुनः सुचारु गरिएको आयोजना प्रमुख विनोद देवकोटाले जानकारी दिए।
स्थानीयबासीले सडकको स्तरोन्नित गरिदिनु पर्ने माग राखेर अवरोध गरेपछि बुधबारदेखि काम ठप्प थियो। मागका सम्बन्धमा आयोजनाको व्यवस्थापन पक्ष र स्थानीयबासीबीच छलफल तथा परामर्श गरेर समस्याको समाधान गर्ने सहमति जुटेकाले काम सुचारु गर्न सकिएको उनले बताए।
हालसम्म आयोजनाको करिब ७७ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ। निर्माण अन्तिम चरणमा पुगेको आयोजनाबाट २०७९ असारदेखि विद्युत उत्पादन गर्ने तयारी रहेको छ।
कम्पनीका अनुसा आयोजनाबाट गत असारदेखि नै विद्युत उत्पादन गर्ने तयारी भएको भएतापनि कोभिड–१९ को असर, भौगोलिक विकटता, बाढी र पहिरोको जोखिमलगायत कारणले उत्पादन तालिका प्रभावित हुन पुगेको हो।
आयोजना सम्पन्न गर्न २ अर्ब ४२ करोड रुपैया लागत अनुमान गरिएको छ।
आयोजनाबाट उत्पादीत विद्युत ७ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको दाना सबस्टेसनमा जोडिनेछ।