चितवन। चितवनको भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ मा तीन लाख पर्यटक भित्र्याउने तयारी गरेको छ। बुधबार भ्रमण वर्ष २०२४ बारे पत्रकार सम्मेलनको आयोजना गरी महानगरकी प्रमुख रेनु दाहालले एक वर्षमा कम्तीमा तीन लाख पर्यटक घुम्न आउने गरी तयारी भएको जानकारी दिएकी हुन्।
देश आर्थिक रुपमा सवल नभए पनि भ्रमण वर्षको कारण आर्थिक गतिविधि चलायमान गराउन सफल हुने उनको भनाइ छ।
प्रमुख दाहालले आगामी पुस १५ गते भव्य रुपमा उद्घाटन गरेर भ्रमण वर्षको सुरुवात गर्ने समेत जानकारी दिइन्। पर्यटन वर्षका लागि महानगरपालिकाले छ करोड रुपियाँ विनियोजन गरी काम गरेको उनको भनाइ छ। महानगरपालिका भित्र मात्रै ३१ वटा पर्यटकीय केन्द्र रहेकाले यहाँ आउने पर्यटकले भरपुर मनोरञ्जन र नयाँ स्थानको अनुभव लिने उनको विश्वास छ।
चितवन निकुञ्ज, नारायणी नदी देवघाट, क्रुजशिप, दियालो बङ्गलालगायत महानगरको प्रमुख पर्यटकीय क्षेत्र हुन् । मेघौली गोलाघाटको सूर्यास्तसहित विभिन्न दर्जनौं स्थानमा स्वदेशी विदेशी पर्यटक भित्र्याउने गरी तयारी भएको उनले बताइन्।