इलाम। फिक्कल नयाँबजार सडकको ७५ प्रतिशत कालोपत्रे सम्पन्न भएको छ। फिक्कलदेखि मयुँखोला र गुप्ती नयाँबजार सडक खण्ड कालोपत्रे सम्पन्न भएको हो।
बाँकी सडक आगामी चैतमा सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ । पहिला तीनदेखि चार घण्टा समय लाग्ने नयाँ फिक्कल नयाँबजार सडकमा हाल एकदेखि डेढ घण्टामा एकोहोरो सडक पार गर्न सकिन्छ।
कोशी प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको सडक आधाभन्दा बढी त कालोपत्रे नै सम्पन्न भएको छ। सूर्योदय नगरपालिकाका गोर्खे जोगमाई, माइजोगमाई गाउँपालिका लगायत विभिन्न क्षेत्रका बासिन्दा सडक निर्माणपछि लाभान्वित भएका छन्।
आउँदो मंसिरभित्र नै जोगमाईदेखि गुप्ती सडक कालोपत्रे गरिसक्ने र बाँकी खण्ड चैत महिनासम्म निर्माण सम्पन्न गरिने निर्माण कम्पनी एपेक्स जोशी खनाल कन्स्ट्रक्सन कम्पनीले जनाएको छ ।