रामेछाप। राष्ट्रिय प्रसारण लाइनमा ५२.४ मेगावाट विद्युत् थप भएको छ। रामेछाप र ओखलढुङ्गा जिल्लाको सीमामा बग्ने लिखु नदीमा निर्माण भएको लिखु-४ जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेपछि उत्पादित भएको ५२.४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो।
आयोजनाबाट हाल करिब ३५ मेगावाट विद्युत् केन्द्रीय ग्रिडमा जोडिएको छ। निजी क्षेत्रको ग्रिनभेन्चर लिमिटेडद्वारा २०१८ अक्टोबरबाट काम थालेको उक्त आयोजनाले ३ वर्षमा आयोजना सम्पन्न गरी विद्युत् बिक्री गर्न थालेको हो।
रामेछापको उमाकुण्ड गाउँपालिका–७, भुजी र ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाको बीचमा बग्ने लिखु नदीको पानीलाई बिमिरे भन्ने स्थानमा बाँध बनाई ४.२४ किलोमिटर लामो भूमिगत सुरुङमार्फत खिजीदेम्बाको रगनी फेदीमा निर्माण भएको उत्पादन गृहमा जम्मा गरिएको छ। सो उत्पादन गृहमा दुईवटा टर्वाइनबाट बिजुली उत्पादन गरिएको छ। उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत रामेछाप जिल्लाको मन्थली नगरपालिका–६, खिम्तीमा निर्माण भएको न्यु खिम्ती सबस्टेसनमा जोडिएको हो।
लिखु नदीको पानी प्रयोग गरी अन्य ६ वटा आयोजना पनि निर्माणाधीन अवस्थामा रहेका छन्। लिखु १, २, ३ र लिखु ‘ए’ जलविद्युत् आयोजना निर्माणको काम पनि अन्तिम चरणमा पुगिसकेको छ। सुरुमा १२० मेगावाट क्षमतामा उत्पादन गर्नेगरी डिजाइन गरिएको लिखु–४ जलविद्युत् आयोजनामा भारतीय कम्पनी भिलवारासँगको साझेदारी टुटेपछि ग्रिनभेन्चर लिमिटेडले आयोजनाको क्षमता घटाएर निर्माणको काम थालेको थियो।