पोखरा। होटल सङ्घ पोखराको आयोजना एवम् पोखरा महानगरपालिकाको सहयोगमा पूर्वी नेपालका प्रमुख शहरहरूमा पर्यटन प्रवर्द्धन गरिने भएको छ।
पोखरामा आन्तरिक पर्यटन चलायमान बनाउन ‘जाउँ है पोखरा’ कार्यक्रम लिएर यही कात्तिक १६ गते बिहीबारदेखि पाँचदिने अभियानसहित पर्यटन व्यवसायी, सञ्चारकर्मीको टोली पूर्वी नेपाल जान लागेको होटल सङ्घ पोखराले जनाएको छ।
सङ्घले दुई दशकअघि देखि नेपालभित्रका विभिन्न शहरमा ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गर्दै आएको छ।
पूर्व नेपालमा गर्न लागिएका प्रवर्द्धनात्मक कार्यक्रमका क्रममा जनकपुर, विराटनगर, बिर्तामोड र धनकुटामा त्यहाँका पर्यटन व्यवसायीबीच अन्तरक्रियासमेत तय गरिएको बताइएको छ।