रुकुम पश्चिम। चौरजहारी नगरपालिकामा पहिलो पटक नगर बस सेवा सञ्चालन भएको छ। नगरपालिकाको वडा नम्वर १४ स्थित तिमिलेको रागेचौरमा सोमबार पहिलोपटक नगर बस सेवा सञ्चालनमा ल्याइएको हो ।
कर्णाली प्रदेश ०२-००१ ख ०१७९ नम्बरको नगरबस सञ्चालनमा आएको नगरपालिकाले जनाएको छ । चौरजहारीको बस पार्कबाट कोटजहारी, जोगिनेटा हुँदै तिमीले रागेचौर सम्मको रुटमा बस सेवा सञ्चालन भएको हो।
उक्त रुटमा नगर बस बिदाको दिन बाहेक दैनिक बिहान ७ बजे तिमीलेबाट चौरजहारीसम्म छुट्ने र बेलुका चौरजहारीबाट साढे दुई बजे फर्कने छ ।
यस वर्षको बर्षात सकिएसँगै नगरपालिकाको डोजरले सडक विस्तार गरेपछि पहिलोपटक गाउँमा गाडी पुगेको छ ।
नगरप्रमुख पुष्प बादीले सर्वसाधारणहरुका लागि यातायातको पहुँच पुर्याउन नगर बस सञ्चालनमा ल्याईएको बताए । पालिकाको दुर्गम वडामा रहेका नगरबासीलाई सधैं सेवा दिने प्रतिबद्धतासमेत उनले गरेका छन् । पहिलोपटक गाउँमा गाडी पुगेको उपलक्ष्यमा स्थानीयले चालक जितबहादुर बुढाथोकीलाई फूलमालाले स्वागत गरेका छन् ।