काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपालको पर्यटनलाई नयाँ ढंगले ब्राण्डिङ गर्नसके पर्यटनबाट समृद्धि सम्भव रहेको बताएका छन्। नेपाल पर्वतारोहण संघको ५० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री किरातीले नेपालको पर्यटनलाई नयाँ ढंगले ब्राण्डिङ गर्न आवश्यक रहेको बताएका हुन्।

उनले भने, ‘पर्यटनको मौलिकता हुन् । यसलाई हामीले विश्व समुदायमा नयाँ ढंगले ब्राण्डिङ गर्नसक्यौँ भने पर्यटनबाट समृद्धि सम्भव छ । पृथ्वीको हिमाल जलवायुको प्रतिक पनि रहेछ । जलवायुमा परिवर्तन हुँदै जाँदा हिमालहरु कालो हुँदै आउने दृश्यहरु हामीले देखेका छौँ । संयुक्त राष्ट्रसंघका महामहिम महासचिवले हिजो संसदमा भन्नुभयो विशेष महत्व दर्शाउँदै हिमाल असामान्य रुपमा पग्लिरहेको छ । नेपालले ३० वर्षदेखि यता धेरै ठूला विनाशकारी घटना व्यहोरिरहेको छ । समुन्द्रमा पानीको सतह बढीरहेको छ । संस्कृतिले ठूलो चुनौति व्यहोरिरहेको छ । हिउँ पहिरो बढी जाने सम्भवाना बढेको छ । जलवायु परिवर्तनको समाधान विश्वको साझा चुनौति बनेको छ । हामीले हाम्रो देशको हिमालको रक्षा गर्नसक्यौँ भने मात्रै नेपाल रहन्छ । पर्यटन ऐनहरु पुरानो छ, समय सापेक्ष गर्नुपर्ने छ । जहाजको भाडा विदेशी पाहुनालाई डबल गरेका छौँ । त्यसले नकारात्मक सन्देश विश्वमा गइरहेको छ । निषेधित क्षेत्रका कारणले पर्यटनमा धेरै ठूलो असहजता छ ।’
उनले पर्यटन ऐनहरु पनि पुरानो भएकाले समय सापेक्ष बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताए । उनले विदेशी पाहुनालाई जहाजको भाडा नेपालीको भन्दा दोब्बर बनाउँदा विश्व समुदायमा नकारात्मक सन्देश गएको बताए । उनले निषेधित क्षेत्रका कारणले पर्यटनमा धेरै ठूलो असहजता रहेको पनि बताए ।
मन्त्री किराँतीले हिमाल फोहोर भएको भन्दै सबैले मिलेर सफा गर्नुपर्ने चुनौति रहेको बताए ।