चितवन। चितवनको राप्ती नगरपालिका–५ भण्डारा बजारमा सिँचाइ विभाग र हुलाकको नाममा रहेको जग्गामा बनेका घरटहरा भत्काइने भएको छ। उक्त जग्गामा २०५० सालदेखि घरटहरा बनाएर बसेको बस्ती नगरपालिकाले हटाउने भएको हो।
नगरपालिकाले घरटहरा हटाउन तीन महिनाको समय दिइएको थियो । नगरपालिकाले दिएको समय आज सकिएको र भोली (शुक्रबार) देखि घरटहरा भत्काउन थाल्ने नगरपालिकाका प्रमुख शमशेर लामाले बताए।
यहाँ सिँचाइ विभागको दुई बिघा १० कट्ठा र हुलाकको पाँच कट्ठा जग्गा छ । विसं २०५० मा राप्ती नदीको बाढीले घरवारविहीन बनाएका परिवारलाई त्यहाँ राखिएको थियो ।
तत्कालीन समयमा १० वर्षका लागि उनीहरुलाई त्यहाँ राखिएको र जग्गाको स्वामित्व भएका दुवै कार्यालयले खाली गरिदिन पत्राचार गरेपछि सहजीकरण गर्न लागेको नगरपालिकाले जनाएको छ। यस ठाउँमा सुरुआतमा दुई सय २३ परिवार बसेका थिए । पछि केही पुरानै ठाउँमा फर्किएपछि हाल एक सय ४६ परिवार बस्दै आएका छन्।
यहाँ भएकामध्ये १७ परिवार मात्रै भूमिहीन रहेको र उनीहरुलाई विकल्प दिएर नै जग्गा खाली गर्न लागेको नगरपालिकाले बताएको छ।