म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना घारखोलामा मोटर चल्ने पुल निर्माण भएको छ। पोखरेबगरबाट नेपाने हुँदै पाउद्धार जोड्ने सडकअन्तर्गत घारखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माण भएको हो।
मोटरेबल पुल र पहुँचमार्ग निर्माण सकिएपछि सवारीसाधन आवतजावत गर्न सुरु गरेका छन्। उक्त पुल बनेपछि पोखरेबगर–पाउद्धार सडकमा बाह्रै महिना नियमित सवारी चल्ने भएको छ।
फेवा–बिएम जेभी पोखराले २०७६ माघमा रु दुई करोड ८२ लाखमा निर्माणको ठेक्का लिएको थियो । तत्कालीन राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले ठेक्का लगाएको आयोजना प्राधिकरण खारेज भएपछि सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास कार्यालय कास्कीमा हस्तान्तरण भएको थियो ।
विसं २०७८ साउन २४ गते सम्पन्न गर्ने सम्झौता भएको पुल परामर्शदाताले गरेको गलत डिजाइनका कारण सम्झौता गरेको करिब एक वर्षपछि निर्माण सुरु भएको थियो । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र पुल निर्माण गर्ने ठाउँको भूगोल तथा दूरी नमिलेपछि पुल निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीका प्रतिनिधिले बताएका छन् ।