काठमाडौं। ६.६ मेगावाटको साप्सुप खोला जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। खोटाङको हलेसी तुवाचुङ–११ मा निर्माण सम्पन्न आयोजनाको विद्युत शनिबारदेखि प्रणालीमा जोडिएको हो।
थ्रिस्टार हाइड्रो पावर कम्पनी लिमिटेडका अध्यक्ष कुमार खरेलका अनुसारआयोजनाबाट परिक्षण उत्पादन सुरु भएको छ। आयोजनाले उत्पादन गरेको विद्युत २.५ किलोमिटर दुरीमा सबस्टेसन निर्माण गरी लुपइन–लुपआउट मार्फत जोडिएको उनले जानकारी दिए। प्राधिकरणको ३३ केभी जलजले–बुइपा प्रसारण लाइनको पुराना गाउँमा सबस्टेसन निर्माण गरी उत्पादीत विद्युत ग्रिडमा जोडिएको हो।
आयोजना निर्माण सुरु भएको २ वर्षभित्र उत्पादन सुरु गरिएको कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौता (पिपिए) अनुसार आगामी ३० गतेदेखि उत्पादन सुरु गर्नुपर्ने थियो, तर त्यो अवधी भन्दा अगाडीनै विद्युत प्रणालीमा जोडिएको खरेलले जानकारी दिए।
उक्त आयोजना पूरा गर्न १ अर्ब ३९ करोड रुपैयाँ लगानी लागेको छ। कम्पनीले चाँडै आयोजना प्रभावित र सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने तयारी समेत सुरु गरेको छ। पहिलो चरणमा १० प्रतिशत सेयर आयोजना प्रभावित स्थानीय खोटाङको हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाबासीका लागि जारी हुनेछ, भने दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिनेछ।