रामेछाप। रामेछापको मन्थली विमानस्थलमा तारा एयरलाइन्सका पाइलटबीच कुटाकुट भएको छ। तारा एयरका वरिष्ठ क्याप्टेन सन्तोष शाह र अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच आज बिहान विमानस्थलमै कुटाकुट भएको हो।
लुक्लाबाट मन्थली आएका क्याप्टेन शाह जहाजबाट ओर्लिएर बाहिर निस्केर हिँड्दै गर्दा जहाज भएको ठाउँतर्फ अर्का क्याप्टेन श्रेष्ठ जाँदै थिए । दुईजनाको भेटमा क्याप्टेन शाहले अर्का क्याप्टेन श्रेष्ठसँग हात मिलाउन खोज्दा श्रेष्ठले शाहलाई एक चड्कन गालामा हानेर धकेलिदिएपछि क्याप्टेन शाह भुइँमा बजाए। उनी सामान्य घाइते भएका छन् ।
घटनापछि क्याप्टेन श्रेष्ठले जहाज लिएर लुक्लातर्फ उडे भने शाह श्रेष्ठविरुद्ध निवेदन लिएर जिल्ला प्रहरी कार्यालय गए। क्याप्टेन शाहले आफूलाई विनाकारण क्याप्टेन श्रेष्ठले हात हालेको भन्दै आवश्यक कारबाहीका लागि निवेदनसहित कार्यालयमा आएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। घटनाबारे थप अनुसन्धान र सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ ।
क्याप्टेन सन्तोष शाह आज बिहान ८ बजे सोलुको लुक्लाबाट जहाज लिएर मन्थली विमानस्थलमा अवतरण गरेका थिए भने अर्का क्याप्टेन सञ्जीव श्रेष्ठ लुक्ला उडानका लागि विमानस्थलमा रहेको जहाजतर्फ जाँदै गर्दा घटना भएकाे हाे।