डोटी। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिममा पिछडिएर रहेको कला, संस्कृति तथा पर्यटन क्षेत्रमा उल्लेख्य विकास गर्ने बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले जोरायल गाउँपालिका–३ मा आज बिहान आयोजना गरेको गाउँपालिकास्तरीय भेलालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिम कला, संस्कृति र पर्यटनको क्षेत्रमा धनी क्षेत्र भएको कारणले गर्दा यसलाई ओझेलमा पर्न नदिने जानकारी दिएका छन्।यसैगरी सुदूरपश्चिम क्षेत्रमा पछिल्लो समय सङ्घीय सरकार तथा प्रदेश सरकारको बजेटबाट थुप्रै विकास निर्माणका काम भइरहेकाले ती कामहरु नियमित रुपमा भए नभएकाबारे नागरिकस्तरबाट अनुगमन गर्नुपर्नेसमेत उनले आग्रह गरेका छन्।
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले सुदूरपश्चिम क्षेत्रका सबै नागरिक तथा सामान्य परिवारका व्यक्तिले महसुस गर्ने गरी विकास निर्माणका कामको थालनी गरिएको बताएकी छिन्। त्यसैगरी तत्कालीन संविधानसभा सदस्य हर्कबहादुर सिंहले जनताले प्रतक्ष अनुभूति पाउने गरी विकास गर्नु आग्रह गरेका छन्। उनले भने, “जनताले चाहेको विकास हो, हामीले उनीहरुले प्रत्यक्ष अनुभूति हुने खालका विकासका काममा जोड दिनुपर्छ।”
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष दीर्घराज बोगटीले सुदूरपश्चिमका अधिकांश नागरिक कामका लागि अन्य मुलुकमा जाने अवस्था अहिले पनि कायमै रहेका कारण गर्दा अब त्यहाँका युवा तथा अन्य बेरोजगार युवाले गाउँमै रोजगारी पाउने गरी कामको सुरुआती हुनुपर्ने बताएका छन्।