काठमाडौं। पर्खालबाट लडेर हाइड्रोपावरमा कार्यरत एक मजदुरको मृत्यु भएको छ। लिखु नदीमा निर्माणाधीन लिखु हाइड्रोपावरमा कार्यरत रामेछापको गोकुलगंगा गाउँपालिका– १ चुचुरे सामुडाँडाका ३० वर्षीय कैलाश कार्कीको बिहीबार पर्खालबाट लडेर मृत्यु भएको हो।
काम गर्ने क्रममा ड्यामको गेटको पर्खालबाट करिब २० मिटर तल झरेका कार्कीलाई तत्काल घटनास्थलबाट उद्धार गरी उपचारका लागि सोलुको किज्याङ अस्पतालमा भर्ना गरिएको थियो । उनको सो अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि रामेछापको सदरमुकाम मन्थलीतर्फ ल्याउने क्रममा बिहीबार राति बीचबाटोमा नै उनको मृत्यु भएको हो।
घटनापछि मृतक कार्कीका आफन्त बीचबाटोबाटै शव फर्काएर हाइड्रोपावरको गेटमा शव राखेर आन्दोलनमा उत्रिएका छन् । मृतक कार्कीका आफन्त मृतकको परिवारका सदस्यलाई रोजगारीको ग्यारेन्टी गरिनुपर्ने र परिवारका सदस्यलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेर आन्दोलनमा उत्रिएका प्रहरीले जनाएको छ।