जाजरकोट। जाजरकोट भूकम्पबाट करिब १८ हजार घर पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन्। गृह मन्त्रालय विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले सोमबार साँझ जारी गरेको पछिल्लो विवरण अनुसार भूकम्पमा १३ जिल्लाका १८ हजार घर पूर्ण रुपमा क्षतिग्रस्त भएका हुन्।
साढे १७ हजार घरमा आंशिक क्षति पुगेको छ। कूल १७ हजार ७९२ घर पूर्ण क्षतिको सूचीमा छन्।
शाखाको पछिल्लो तथ्याङ्क अनुसार रुकुम पश्चिममा मात्र १६ हजार ५७० घरमा पूर्ण क्षति पुगेको छ। त्यसैगरी जाजरकोटमा एक हजार १७० घरमा पूर्ण क्षति भएको छ।
रुकुम पश्चिममा ९ हजार ९६१ घरमा आंशिक क्षति पुगेको छ। जाजरकोटमा सात हजार १६६ घरमा आंशिक क्षति पुगेको छ।
रुकुम पूर्वमा १८२ आंशिक तथा २ घर पूर्ण क्षति भएका छन्। सल्यानमा ९७ घरमा आंशिक र २५ घरमा पूर्ण क्षति भएको छ। रोल्पामा ८३ घरमा आंशिक र १७ मा पूर्ण क्षति भएको छ। दैलेख, दाङ, जुम्ला, कालिकोटमा पनि केही घरहरुमा क्षति पुगेको शाखाको विवरणमा उल्लेख छ।