गोरखा। गोरखाको आरुघाट गाउँपालिकामा पर्ने स्तुल खोलामा तीन करोड ८० लाख लागतमा बेलीब्रिज निर्माण गरिएको छ। आरुघाट–आरुपोखरी–ताकुकोट सडकखण्डमा पर्ने आरुघाटको वडा नं ८ र ९ जोड्नेगरी स्तुल खोलामा पुल निर्माण गरिएको हो।
एक वर्षभित्रमा सक्नुपर्ने गरी बेलीब्रिज निर्माणका लागि आयोजना कार्यालयले जलप होम जेभीसँग ठेक्का सम्झौता गरेको थियो ।तर निर्माण कम्पनीले चार महिनाभित्रै काम सम्पन्न गरेको बताइएको छ।
बेलीब्रिज निर्माण सम्पन्न भएसँगै आरुघाट बजार हुँदै सवारीसाधानमार्फत ओहोरदोहोरका लागि आरुपोखरीका बासिन्दालाई अहिले सजिलो भएको छ ।
यहाँ पुल नहुँदा बर्खाका बेला सवारीसाधान आवातजावतमा अत्यधिक कठिनाइ हुने गरेको थियो ।
पुल नबन्दा हिउँदका बेला जसोतसो सवारीसाधन वारपार गराए पनि बर्खामा भने सवारी सञ्चालन गर्न नसक्ने अवस्था रहेको थियो । पुल निर्माण सम्पन्न भएसँगै आरुघाट गाउँपालिका–७, ८ र ९ तथा आरुपोखरी, बारपाक सुलिकोट गाउँपालिकाको तीनखण्डे, बालुवा, गैरीछापलगायतका क्षेत्रका स्थानीय बासिन्दा विशेष लाभान्वित भएका छन् ।