मलेखु। धादिङको उत्तरी क्षेत्र जोड्ने किन्ताङ खोलामा बेलीब्रिज निर्माण गरिने भएको छ । सडक खन्न सुरु गरेको करिब ४ दशकपछि खनियाँबास गाउँपालिकामा पर्ने किन्ताङ फेदीमा सिङ्गल बेलीब्रिज निर्माण सुरु गरिएको हो।
३९.६ मिटर लम्बाइ र ७.२ मिटर चौडाइको पुल निर्माणको काम सुरु गरिएको खनियाँबास गाउँपालिकाले जनाएको छ। पुलको दुवै भागमा फुटपाथ रहने र एकतर्फी मात्रै सवारी चल्ने गरी निर्माण सुरु गरिएको गाउँपालिकाले जनाएको छ।
उत्तरी धादिङलाई जिल्ला सदरमुकाम जोड्ने यो मुख्य मार्ग हो । यो पुलले उत्तरी धादिङको रुवीभ्याली, गँगाजमुना, खनीयाँबास र नेत्रावती डब्जोङ गाउँपालिकाको विकट बस्तीलाई सदरमुकाम धादिङबेँसीसँग जोड्नेछ । पुल नहुँदा बर्खाको पाँच महिना सवारी आवतजावत बन्द हुने गरेकामा खोलामा बेलिब्रिज बन्न थालेपछि उत्तरी क्षेत्रका स्थानीय खुसी भएका छन् ।
किन्ताङ फेदीमा बन्दै गरेको बेलिब्रिज नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको हो । सो अस्थायी ब्रिज नेपाली सेनाको प्रविधिक सहयोगमा निर्माण भइरहेको छ । अहिले पुलको दायाँबायाँको जिप पिल्लरका लागि खाल्डो खन्ने काम भइरहेको छ । दुई महिनाभित्र सम्पन्न गर्ने गरी निर्माण भइरहेको खनियाँबास गाउँपालिकाले जनाएको छ।