बागलुङ । बागलुङको बागलुङ नगरपालिका–३ नारायणचोकमा निर्माणाधीन विपी स्मृति भवनको काम हालसम्म २५ प्रतिशत पूरा भएको छ। हालसम्म भवन निर्माणको भौतिक प्रगति २५ प्रतिशत भएको विपी स्मृति भवन निर्माण उपभोक्ता समितिले जनाएको छ।
भवन निर्माणका लागि धमाधम सहयोग भने जुटिरहेको छ । भवन निर्माणका लागि हालसम्म करिब तीन करोड सहयोग रकम सङ्कलन भइसकेको छ।
सहयोग सङ्कलन गरिएको रु तीन करोडमध्ये रु ७५ लाख सरकारी निकायबाट भएको र अन्य रकम व्यक्तिगत सहयोगबाट जुटेको बताइएको छ। गत वर्षदेखि थालिएको भवन निर्माण अभियानमा सहयोग जुट्ने क्रमले तीव्रता पाएको छ ।
हालसम्म भवन निर्माणमा झण्डै एक करोड खर्च भइसकेको छ। उक्त भवन निर्माणका लागि पूर्वाधार विकास कार्यालयबाट रु ५० लाख, बागलुङ नगरपालिकाबाट रु २० लाख र जैमिनी नगरपालिकाबाट रु पाँच लाख बजेट विनियोजन भई फछ्र्योट भइसकेको छ । यस्तै जिल्लाका विभिन्न व्यक्ति, शुभेच्छुक तथा जनप्रतिनिधिबाट रु एक करोड ५९ लाख र जापानबाट रु ५० लाख सङ्कलन भएको छ ।