चितवन। पूर्वी चितवनको खैरहनी नगरपालिकाले नगरपालिकाभित्र सडकलाई अपाङ्गमैत्री बनाउन सुरु गरेको छ । नगरपालिकाले शारीरिकरूपमा अशक्त भएकाका लागि ‘ह्विलचियर’ मैत्री फुटपाथसहित सडकको स्तरोन्नति गर्न सुरु गरेको हो ।
खैरहनी नगरपालिकाभित्र खैरहनी चोकदेखि वाड नं १२ को कुमरोज पुग्ने सडक, चैनपुर चोक उत्तरतर्फ पुलदेखि बिन्दवासिनी चोक हुँदै शिवालय जाने सडक, सिमल टाँडी चोकबाट उत्तर दक्षिण दुवैतर्फको सडक, नगरपालिका गेटदेखि चैनपुर चोकसम्म पुग्ने सडक, मगनी चोकबाट उत्तर दक्षिण दुवैतर्फको सडक र चैनपुर चोकबाट माथि लदारी पुलसम्म जाने सडकलाई अपाङ्गमैत्री बनाउन लागेको नगरपालिकाले जनाएको छ।
नगरपालिकाको क्षेत्राधिकार पर्ने ८ मिटरसम्मको सडकमा सकेसम्म सबै ठाउँमा अपाङ्गमैत्री सडक निर्माण गर्ने नगरपालिकाको योजना रहेको छ । पेटीको बीचमा आँखा नदेख्ने व्यक्तिले लट्ठीको टेकेर हिँड्न मिल्ने ट्र्याक हुनुपर्ने सडकको मापदण्ड रहेको छ।
अपाङ्गमैत्री सडक निर्माणको लागि आव २०८०।८१ मा ९ करोड रुपैयाँ बजेट विनियोजन भई निर्माण भइरहेको नगरपालिकाले जनाएको छ ।