तेह्रथुम। यतिबेला तेह्रथुममा राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको काम द्रुत गतिमा अघि बढेको छ। जिम्मेवार प्रशासनिक क्षेत्रबाट हुने निर्देशन र अनुगमनले निरन्तरता पाएसँगै जिल्लामा आयोजनाको निर्माणले गति लिएको हो।
तेह्रथुममा लोकमार्गको ११९ किलोमिटर क्षेत्रफल पर्छ । त्यसमध्ये यो सडकखण्ड २५.५ किलोमिटर क्षेत्रफलमा रहेको छ ।
तेह्रथुमका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले जिल्लाको वसन्तपुर–म्याङ्लुङ खण्डमा भइरहेको लोकमार्गको काम जतिसक्दो चाँडो सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको बताए । उनले यो सडक निर्माणपछि बहुआयामिक फाइदा हुने भएकाले तोकिएको समयमै निर्माण सम्पन्न गर्न निर्देशन दिए ।
सम्झौतामा उल्लेख भएको मितिमै निर्माण सम्पन्न नगरे निर्माण कम्पनीलाई कारबाही गरिने उनको चेतावनी छ । उनले तोकिएकै समयमा तोकिएकै गुणस्तरमा काम सम्पन्न गर्न र त्यसको प्रगति प्रतिवेदन महिनाको दुई पटक जिल्ला प्रशासनलाई बुझाउन निर्देशन दिए ।
प्रत्येक हप्ता सडक अनुगमन गरिने र काम सुस्त भए कारबाहीको प्रक्रिया अगाडि बढ्ने घिमिरेले बताए । उनले प्रमुख जिल्ला अधिकारीका रूपमा तेह्रथुमको कमान्ड सम्हाल्दा जुन सडकको दुर्दशा छ र त्यसले जनतालाई जुन सास्ती मिलेको छ, त्यसलाई आफ्नो कार्यकालमा समाधान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।