चितवन। चितवनको भरतपुर महानगरपालिक–१ स्थित देवघाटधामको विश्रामस्थलमा निर्माण गरिएको कलात्मक ढुङ्गे धारको उद्घाटन गरिएको छ। भरतपुर महानगर प्रमुख रेनु दाहालले ढुङ्गेधारको उद्घाटन गरेकी हुन्।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख दाहालले देवघाट क्षेत्रको विकास गर्न महानगरपालिकाले प्राथमिकताका साथ बजेट विनियोजन गर्दै आइरहेको बताइन् । उनले देवघाट क्षेत्रमा बसपार्क, सडकको स्तरोन्नति, शवदाह गृह लगायतका महत्त्वपूर्ण पूर्वाधार निर्माणका कार्य भइरहेको समेत जानकारी दिएकी छन्।

खानेपानी तथा सरसफाइ डिभिजन हेटौँडाका प्रमुख हरेराम पौडेलले चिसापानी मुहानबाट करिब ३ किमी भूमिगत पाइपबाट सो स्थानमा पानी ल्याइएको बताए । भरतपुर महानगरपालिकाको सहकार्यमा बागमती प्रदेश सरकारले धारा निर्माणका लागि २१ लाख ५७ हजार रुपैयाँ खर्च भएको प्रमुख पौडेलले जानकारी दिए । धारामा शुद्ध पानीको प्रबन्ध मिलाउन ट्रिटमेन्ट प्लान्ट पनि निर्माण गर्ने योजना रहेको बताइएको छ।
देवघाटधाम आउने तीर्थालु तथा मलामीहरूलाई लक्षित गरी बागमती सरकारको खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय अन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन हेटौडा भरतपुर महानगरपालिकासँगको सहकार्य ढुङ्गेधारा निर्माण गरेको हो ।