रसुवा। त्रिशुली–बेत्रावती–मैलुङ गल्छी–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजना अन्तर्गतको सडक दसैँ अगाडीनै खाल्टाहरु सबै पुरेर खाल्टारहित बनाउनको लागी कामहरु भइरहेको छ।
गल्छीदेखी पिपलबोटसम्मको पहिरो पन्छाउने, नाली सफा गर्ने र बाँकी रहेको भागमा कालोपत्रे गर्ने तयारी भइरहेको छ। असोजको दोस्रो हप्ताभित्र ढङ्गेदेखि बेत्रावतीसम्म बाँकी रहेको सडकको कालोपत्रे पनि गर्ने भएको छ।
कोभेक–तन्दी–रसुवा जेभीले गल्छीदेखी मैलुङसम्मको सडक निर्माणको जीम्मा लिएको थियो, तर कार्यक्षेत्र खाली नभएको कारणले निरन्तर रुपमा काम गर्न नपाएको गुनासो गरेको छ। ढङ्गेदेखि पिपलटार गेटसम्म राष्ट्रिय गौरवको रुपमा रहेको यो सडक योजना निर्माण कार्यमा सर्वोच्च अदालतको स्टे अर्डरमा काम हुन भने सकेको छैन।
मुआब्जा क्षतीपुर्ति विवादले निर्माणमा ढिलाई भइरहेको योजना २०८० सालसम्म सम्पन्न गरिसक्नुपर्ने थियो। निर्माण व्यवसायीहरुलाई सडकमा रहेका खाल्डाहरु पुर्न र सवारीसाधन सहज रुपमा आवतजावत गर्नसक्ने अवस्था सिर्जना गर्न दुई हप्ताको समय तोकिएको छ।
निर्माण व्यवसायी, सडक बोर्ड नेपालको लेन्थ वर्करलाई परिचालन गरी सडकमा रहेको धुलो, नाली सफा गर्ने र सडकमा भएको अवरोध हटाउने काम भइसकेको गल्छी–त्रिशुली मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका प्रमुखले जानकारी दिनुभयो।