ओखलढुंगा। जिल्लाको मानेभज्याङ गाउँपालिकाबासीलाई यतिबेला विकास निर्माण नै काल बनेको महसुस भएको छ। विकासका लागि भनेर खनिएको सडककै कारण दैनिक सुख्खा पहिरो जान थालेपछि यहाँका मानिसलाई दिनमा भोक र रातमा निन्द्र लाग्दैन।
मानेभन्ज्याङ गाउँपालिकाको वडा नम्बर १ स्थित चुने गाउँमा दुधकोशी किनारबाट गएको सुख्खा पहिरोले स्थानीयलाई पिरोल्न थालेको लामै समय भइसक्यो। मुनिबाट दुधकोशी नदी त्यसकै किनार हुँदै खसेको पहिरोले कति बेला खेतबारी हुँदै घरसँगै आफूहरुलाई लैजाने हो भन्ने पिरमा छन् यहाँका अधिकांश नागरिक।
स्थानीय बजार जयरामघाट आवतजावत गर्ने एकमात्र बाटो पहिरोले बगाइसकेको छ। सरकारले कच्ची सडक खनेको स्थान हुँदै पहिरो खसेपछि मानेभज्याङ गाउँपालिका र खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका तल्लो भेगका नागरिक बढी प्रभावित बनेका छन्। त्यहाँका नागरिकलाई बजारसँग जोड्ने बाटो नै बगाएपछि दैनिक उपभोग्य बस्तु किनमेल गर्नै समस्या देखिएको छ।
पहिरो तत्काल रोकिने अवस्थामा छैन। गाउँपालिकाले सुरक्षित रहन र पहिरो आसपासको क्षेत्रमा खेतीपाती नगर्न आग्रह गरेको छ। गाउँपालिकाका अध्यक्ष मोतिराज राईले तत्काल जोखिममा रहेका नागरिकलाई अन्यत्र सार्ने विषयमा पहल गर्ने बताएका छन् ।
पहिरोका कारण तत्काल तीन घर स्थानीय जोखिममा रहेका छन् भने अन्य १० भन्दा बढी घरपरिवार प्रभावित बनेका छन् । उनीहरूले खेती गर्दै आएका जमिनलाई समेत पहिरोले तान्ने अवस्था आएपछि स्थानीय झनै मर्कामा परेका छन् ।
गाउँको विकासका लागि खनिएको सडककै कारण यहाँ सुख्खा पहिरो गइरहेको छ। अन्य स्थानमा गएको पहिरोले खास्सै प्रभाव नपारेपनि घर नजिकै खनिएको सडकमै पहिरो जाँदा भने स्थानीय त्रसित बनेका छन्। सडक खनेर कमलो भएको माटो सुख्खा पहिरोले बगाउन थालेपछि यहाँका मानिसलाई निन्द्र समेत लाग्न छोडेको छ। तत्काल पहिरो रोकिने अवस्था छैन। तर पहिरो नरोकिएसम्म यहाँका मानिस ढुक्कले न त खान सक्छन् न त निदाउन। यस समस्या तत्काल समाधान गर्न सम्बन्धीत निकायले ध्यान दिनुपर्ने देखिएको छ। सान्तवना र ढाडसले मात्र यहाँका नागरिक ढुक्क हुन सक्दैनन्। पहिरो रोकथाम अर्थात जोखिमपूर्ण क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा लैजान आवश्यक पहल तत्काल गर्नुपर्ने देखिन्छ।