काठमाडौं। सरकारले बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउने भएको छ। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले निजगढ विमानस्थल निर्माण अघि बढाउने निर्णय गरेको हो।
बैठकले विमानस्थल निर्माणबारे विज्ञ समूहले दिएको प्रतिवेदन कार्यान्वयन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
बैठकको निर्णय सुनाउँदै प्रवक्ता शर्माले भनिन्, ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने निर्णय भएको छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका सम्बन्धमा सुझाव दिन गठित विज्ञ समूहको प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको हो।’