सिरहा। दैनिक एक हजार भन्दाबढी मोटरसाइकल आवतजावत गदै आएको हुलाकी सडक अन्तर्गत धनुषा–सिरहा जोड्ने कमला नदीमा सञ्चालनमा आएको काठको पुल जीर्ण बन्दै गएको छ। वर्षायाम सुरु भएसँगै गत असारदेखि नदीमा पानीका बहाव बढेपछि सिरहा नगरपालिकाले तत्कालका लागि बाँस प्रयोग गरी अस्थायी प्रकृतिको काठको पुल बनाएको थियो ।
बाह्र वर्षदेखि निर्माणाधीन कमलाको पक्की पुल समयमा सम्पन्न नहुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। बर्खायाममा हुलाकी मार्गका यात्रु तथा नदी वारिपारिका दुवै जिल्लाका स्थानीयवासीलाई आवतजावत गर्न सास्ती पर्ने गरेको छ।
यात्रुलाई नदी वारपार गर्नलाई नजिकैको अर्को कुनै विकल्प नभएको स्थानीयले बताए। यहाँको दुर्गती भनेकै यो पक्की पुल निर्माणमा ढिलाइ गर्नु हो । विकल्पको रुपमा आवतजावत गर्नलाई कि त पूर्व–पश्चिम महेन्द्र राजमार्ग मिर्चैया—कर्जना भएर वा सीमावर्ती भारतीय बजार जयनगर पुगेर करिब दुई घण्टा लामो यात्रा गर्नुपर्छ।