काठमाडौं। कीर्तिपुरको नगाउँबाट भत्केपाटीको पिपलबोटसम्मको सडक कालोपत्र गर्न माग गर्दै स्थानीयले आन्दोलन गरेका छन्। सोमबार स्थानीयले केही समय सडक नै अवरुद्ध गरेर कालोपत्र गर्न माग राखेका हुन्।
समयमै सडक पिच नगर्दा धुलोले हैरानी दिएको भन्दै उनीहरुले २० मिनेट सडक अवरूद्ध गरेपछि खुलाइएको कीर्तिपुर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष गंगाराम महर्जनले बताए। उनका अनुसार सो सडकखण्डमा एक किलोमिटर ३०० मिटर पिच गर्ने योजना छ। सडकको लम्बाई नौ मिटरको छ।
यसको ठेक्का पिआर इन्फ्रास्ट्रक्चर कन्स्ट्रक्सनलाई परेको थियो। बोलकबोल गरी तीन करोड ८५ लाखमा सडक विभागले सो कम्पनीलाई ठेक्का दिएको थियो। जेठदेखि सुरू भएको निर्माणको काम भदौ १५ गतेभित्र सकाउने योजना थियो। तर असारमै पिच गर्ने योजना भए पनि पानी पर्दा काम हुन नसकेको उनले बताए।
स्थानीयले विरोध गरेपछि सडकमा निर्माणको काम शुरू गरिने र एक हप्तादेखि १५ दिनसम्ममा काम सक्ने वडाध्यक्ष महर्जनले बताए।