काठमाडौं। भक्तपुरको चाँगुनारायण नगरपालिकामा केही समय अगाडि मात्रै बनाएको पर्खाल जिर्ण बनेको छ। चाँगुनारायण नगरपालिका-९ ताथलीको पण्डित पधेँरोदेखि बालाटोल हुँदै सुडाल जोड्ने सडक खण्डमा लगाएको पर्खाल भत्किने अवस्थामा पुगेको हो।
नगरपालिकाको गौरवको योजनाअन्तर्गत पर्ने यो पर्खाल ठेकेदारमार्फत निर्माण गरिएको थियो। वडाध्यक्ष गणेश त्यातका अनुसार पर्खाल निर्माणका क्रममा ठेकेदारले लापरवाही गरेका कारण कमजोर भएको हो।
उनका अनुसार उक्त योजना फास्टट्रयाक सडकअन्तर्गत पर्छ। सडकको पर्खाल भत्किन लागेको भन्दै स्थानीयको गुनासो आएको थियो। सोही अनुरुप अनुगमन गर्दा निकै लापरवाही भएको देखिएको उनले बताए।
प्लम कंक्रिट विधिको वालमा एक भाग ढुंगा एक भाग मसला (ढलान) हाल्नु पर्नेमा त्यहाँ करिब ९० प्रतिशत ढुंगा मात्र राखेको उनले बताए।
नगरपालिकाका इञ्जिनियर पुरुषोत्तम शर्माले ठेकेदारले लापरवाही गरेको भेटिएको र बारम्बार ठेकेदारलाई खबर गर्दा पनि कुनै सुनुवाई नभएको जानकारी दिए। उक्त पर्खाल निर्माणको जिम्मा निर्माण व्यवसायी लिला लामाले पाएका थिए।