काठमाडौं। फिर्के खोला मिचेर बनेका संरचना नहटाउन पोखरा महानगरपालिकालाई उच्च अदालत पोखराले आदेश जारी गरेको छ। न्यायाधीश मीलन राईको एकल इजलासले संरचना नभत्काउन अन्तरिम आदेश जारी गरेको हो।
पोखराका मेयर धनराज आचार्यले फिर्केमाथि बनेका संरचना अर्को महिनाको मध्यतिर भत्काउने योजनासहित ३५ दिने सूचना निकालेका थिए । महानगरले ३५ दिने सूचना जारी गरेपछि फिर्के खोलाको संरचनामाथि बनेको फिर्के तमु समाज समेतले रिट दायर गरेका थिए । रिट उपर वरिष्ठ अधिवक्ता तिलक पराजुली, वरिष्ठ अधिवक्ता मुकुन्द अर्याल, अधिवक्ता केशवप्रसाद पराजुलीले बहस गरेका थिए । अदालतले महानगरपालिकासँग कारण पनि मागेको छ।
पोखरा महानगरले केही समयअघि प्राविधिक खटाएर खोलाको वास्तविक आकार पत्ता लगाएपछि एक्सन बढाएको थियो । सो क्रममा खोलाघर पर्ने क्षेत्रमा सीमांकन गर्दै स्तम्भ गाडिएको छ । स्तम्भभित्र पर्ने संरचना हटाउन महानगरले सूचना जारी गरेको भए पनि लालपूर्जा भएका संरचना तत्काल नहटाउने महानगरले जनाएको छ।