काठमाडौं। जाजरकोट भूकम्पमा परी ध्वस्त भएका एक लाख घर पुनर्निर्माण गर्नुपर्ने सरकारको तथ्यांक छ। करिब ३७ हजार घर धुरी रहेको जाजरकोटका अधिकांश बस्ती भूकम्पको धक्काले कमजोर भएका छन् ।
सरकारको प्रारम्भिक तथ्यांकअनुसार जाजरकोटमा ९ हजार ७ सय ९४ घरको अस्तित्व नै छैन भने २४ हजार ७ सय ७ घरको पनि पुनर्निर्माण गर्नुपर्ने भएको छ। रुकुम पश्चिमा मात्रै १६ हजार ७ सय ७० घर पूर्णरुपमा भत्किएका छन् भने १० हजारमा आंशिक क्षति भएको छ । बझाङ र सल्यानसहितका भूकम्प प्रभावित जिल्लाका गरी करिब १ लाख आवासीय घरको पुनर्निर्माण गर्नुपर्ने सरकारको दायित्वमा छ ।
२०७२ सालमा क्षति भएका ८ लाख घर पुनर्निर्माण गर्न दुई वर्षभन्दा बढी समय लागेको थियो । तर जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा निर्माण सामग्री ढुवानीमा समस्या पर्ने मात्र होइन, कामदारको समेत अभाव देखिन्छ । जसले गर्दा ती क्षेत्रमा भूकम्प प्रतिरोधी घर निर्माण कुन स्वरुपमा गर्ने भन्ने एकिन भइसकेको छैन ।
कर्णाली प्रदेशको पहाडि जिल्लाका अधिकांश पुरुष कामका लागि विदेशीएका छन् । स्थानीयस्तरमा घर निर्माणका लागि पर्याप्त स्रोतको समेत उपलब्धता छैन । संघीय सरकारको साथ विना पुनर्निर्माण कठिन हुने स्थानीय तहका जनप्रतिनिधि बताउँछन् ।
स्रोत: कान्तिपुरटिभी