काठमाडौं। नेपाल विद्युत प्राधिकरणले चिलिमे जलविद्युत कम्पनीको अगुवाईमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको निर्माण छिट्टो सम्पन्न गर्न ताकेता गरेको छ। जनताको जलविद्युत कार्यक्रमअन्तर्गत सर्वसाधारणको पनि लगानीमा निर्माण भइरहेका उक्त आयोजनाहरु निर्माण सम्पन्न हुन ढिलाई भएपछि प्राधिकरणले आफ्नो तथा सहायक कम्पनीको समेत लगानी रहेका आयोजनाहरुको काम जतिसक्दो छिट्टो सम्पन्न गर्न पहल गरेको हो।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणस्थलको अनुगमनमार्फत आयोजना व्यवस्थापन, निर्माणमा संलग्न ठेकेदारहरु, परामर्शदातासँग छलफल गरी बाँकी रहेका काम छिट्टो सम्पन्न गर्न निर्देशन दिएका छन्। मुख्य सिभिल संरचनाहरुको निर्माण सम्पन्न भइसकेका र बाँकी रहेका कामहरु समानान्तर रुपमा अगाडि बढाएर ७/८ महिनाभित्रमा सम्पन्न गर्नुपर्ने घिसिङको भनाइ छ। माथिल्लो सान्जेनको समग्र निर्माण प्रगति ९१ प्रतिशत रहेको छ भने सान्जेनको समग्र निर्माण प्रगति ८३ प्रतिशत रहेको छ।
दुवै आयोजनाका इलेक्ट्रोमेकानिकल उपकरणहरुको उत्पादन, जडान, परीक्षण सञ्चालनको ठेक्का पाएको कम्पनीका प्राविधिकहरु चीनबाट आउन नसक्दा काम प्रभावित भएको हो। निरन्तरको प्रयासपछि चिनियाँ प्राविधिकहरु आज नेपाल आउन लागेको र त्यसपछि चिनियाँ तथा नेपाली प्राविधिकहरुले उपकरणहरु जडान सुरु गर्ने योजना रहेको छ। प्रसारण लाइनको टावरहरु निर्माण भइसकेका छन् भने तार टाँग्न बाँकीे रहेको छ।
त्यसैगरी रसुवागढी जलविद्युत आयोजनाको मुख्य सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ। सिभिल संरचना र हाइड्रोमेकानिकल उपकरणहरुको ठेकेदारले आफ्नो काम आगामी चैतभित्रमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। इलेक्ट्रोेमेकानिकलका ९९ प्रतिशत उपकरणहरु आयोजनास्थलमा आइसकेका छन् भने हाल जडान कार्य पनि भइरहेको जनाइएको छ। ३ वटै आयोजनाहरुको विद्युत निर्माणाधीन २२० केभीको चिलिमे हब सबस्टेसनमा जोडिने योजना रहेको छ। यसैगरी चिलिमे तथा त्रिसूली थ्री बी हब सबस्टेसन र चिलेमी–त्रिसूली थ्री बी हब सबस्टेसनको निर्माण आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।