काठमाडौं। निजी क्षेत्रले अघि बढाएका ५०.६२ मेगावाटका ब्रम्मायणी र माथिल्लो ब्रम्मायणी जलविद्युत आयोजनाको निर्माण सुरु हुन अझै १ वर्ष लाग्ने भएको छ। सिन्धुपाल्चोकको बलेफी नदीमा निर्माण हुने ३५.४७ मेगावाटको ब्रम्मायणी र १५.१५ मेगावाटको माथिल्लो ब्रम्मायणीको आयोजना स्थलमा सडकको पहुँच पुगिनसकेकाले काम सुरु हुन समय लाग्ने भएको हो।
प्रवद्र्धक इन्टिग्रेटेड हाइड्रो फन्ड कम्पनीका अध्यक्ष भरत पराजुलीका अनुसारआयोजना स्थलसम्म पुग्ने ६ किलोमिटर सडकको काम सम्पन्न हुन बाँकी रहेकाले पूर्व तयारीका सबै काम सम्पन्न गरेर निर्माण सुरु गर्न बढीमा १ वर्ष लाग्ने छ। उनका अनुसार सडकको पहुँच र आयोजना स्थलमा आवासगृहको निर्माण सम्पन्न भएपछि २०७९ सालको पुसदेखि संरचनाको काम सुरु गर्ने योजना छ।
२०७६ बाटै निर्माणमा जानु पर्ने भएको भएतापनि कोरोना महामारीका कारणले् गर्दा निर्माण सुरु गर्नु पूर्वका कामहरू सम्पन्न हुन नसकेपछि आगामी वर्षबाट मात्रै काम सुरु गर्ने योजना भएको उनले बताए। अहिलेसम्म आयोजना स्थलसम्म पुग्न आवश्यक १६ किलोमिटर मध्ये १० किलोमिटर पहुँच सडक तयार भइसकेको उनले जानकारी दिए।
उनका अनुसार हाल स्वपुँजी लगानीको रकम आयोजनाको काममा खर्च गरिरहेको छ। ऋण लगानीका लागि बैंक तथा वित्तीय संस्थासँग सहमति भइसकेकाले अबको १ महिनाभित्रमा सम्झौता हुने पनि उनले जानकारी दिए। आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गर्ने काम पनि अन्तिम चरणमा पुगेको कम्पनीले बताएको छ।
ब्रम्मायणीको ७ अर्ब र माथिल्लो ब्रम्मायणीको अनुमानित लागत ३ अर्ब रुपैयाँ गरी दुबै आयोजना सम्पन्न गर्न १० अर्ब लागत लाग्ने अनुमान गरिएको छ। नेपाल विद्युत प्राधिकरणले दुवै आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) सम्पन्न गरिसकेको छ। आयोजनाले उत्पादन गर्ने विद्युत हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा प्रतियुनिट ४.८० रुपैयाँमा प्राधिकरणले खरिद गर्ने गरी पिपिए भएको छ। आयोजना निर्माण सम्पनन भई सञ्चालनमा आएपछि उत्पादन हुने विद्युत पाङताङ सबस्टेसनमा जोडिनेछ।