मोरङ।कोशी प्रदेशले २५ लाखभन्दा कमका विकास आयोजना नल्याउने भएको छ। मोरङको पथरी शनिश्चरे–४ स्थित गणेश अम्बिका प्रतिष्ठानको सामुदायिक भवन शिलान्यास गर्दै मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले सना टुक्रे आयोजना नल्याउने जानकारी दिएका हुन्।
उनले प्रदेश सरकारले अब ठूला विकासका आयोजनामा मात्र ध्यान दिने बताए।
उनले भने, “कम वजेटका आयोजना स्थानीय सरकार र ठूला आयोजना प्रदेश सरकारबाट सञ्चालनहुँदा छिटो आर्थिक समृद्धि हुन्छ। संघबाट आएको टुक्रे योजनाका बजेट दुरुपयोग हुने गरेको छ।”
समाजका लागि निःस्वार्थ उपलब्धिमूलक काम गरी परिणाम देखाउने काम गर्न मुख्यमन्त्री कार्कीले आग्रह गरेका छन्। प्रदेश सरकार भौतिक विकाससँगसँगै मानवीय विकासको लक्ष्यमा लागेको जनाउँदै यस कार्यमा साथ दिन जनतासँग आग्रह गरेका छन्।
कार्यक्रममा पथरी शनिश्चरे नगरप्रमुख मोहनप्रसाद तुम्वापोले मनमोहन गान्धी मार्ग र पथरी डायनिया सडकखण्डले अझै पूर्णता नपाएको जानकारी गराए।
उनले भने, “योजना अलपत्र भएका कारण जनताले सास्ती खेप्नुपरेको छ । जनताको स्वास्थ्यमा समस्या उत्पन्न गराएको छ । सर्वसाधारणले बर्खामा हिलो र हिउँदमा धुलोको समस्या खेप्दै आउनुपरेको छ ”