काठमाडौं। नगर विकास कोष र सर्लाहीको ईश्वरपुर नगरपालिकाबीच लगानी ऋण सम्झौता भएको छ । ईश्वरपुरमा बहुउदेश्यीय भवनसहित आधुनिक वधशाला निर्माणको लागि कोषले ऋणस्वरुप लगानी गर्नका लागि नगरपालिकासँग सम्झौता गरेको हो ।
नगरपालिकाले कोषसँग ऋण लिएर बयरवास बजारमा व्यापारिक भवन निर्माण गर्ने जनाएको छ । सो भवन निर्माणको लागि नगर विकास कोषबाट अनुदान १५ प्रतिशत र ऋण ५५ प्रतिशत गरी ७० प्रतिशत सहयोग रहने छ ।
नगर विकास कोषले ४ करोड ५० लाख १७ हजार रुपैयाँ ऋण स्वरुप उपलब्ध गराउने कोषका मावन संशाधन विकास विभागले जनाएको छ । सो भवन निर्माणको लागि कुल लागतको ६७ लाख १५ हजार रकम नगर विकास कोषले नगरपालिकालाई अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।
बाँकी ३० प्रतिशत ईश्वरपुर नगरपालिका आफ्नो आन्तरिक लगानी रहने छ । ऋण ७.५ प्रतिशत व्याजरमा २० वर्षको लागि प्रदान गरिने कोषले जनाएको छ ।