गोरखा। गोरखाको पालुङटार नगरपालिकाको बडहरे खोलामा मोटरेवल पुल निर्माण गरिएको छ। पालुङटार वडा नम्बर ६ गाईखुर र वडा नम्बर ७ च्याङ्ली जोड्ने मोटरेवल पुल निर्माण कार्य सम्पन्न भएको हो।
एघारकिलो भालुस्वाँरा सडक आयोजना कार्यालयका अनुसार बडहरे खोलाको पुल शिलान्यास भएको करिब सात वर्षपछि निर्माण सम्पन्न भएको हो।
तनहुँको विमलनगर, पौवाटार गोरखाको ठाँटीपोखरी केराबारीअन्तर्गत पर्ने दूधपोखरी मार्गमा पर्ने बडहरे खोलामा २०७५ मा पुल निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरिएपनि पाँच वर्ष ढिलो गरेर पुल बनेको छ।
कुल १८ दशमलव ५ मिटर लम्बाइको पुल निर्माणमा तीन करोड ६३ लाख लागत लागेको निर्माण कम्पनीले जनाएको छ। तोकिएको समयमा काम सम्पन्न गर्न नसकेपछि कार्यालयले पटक–पटक गरी चार पटकसम्म म्याद थप गरेर काम सम्पन्न गरेको हो।