सुर्खेत । जाजरकोट भूकम्पले जाजरकोट र रुकुमपश्चिमका ४५ वटा स्वास्थ्य संस्था र २०८ वटा विद्यालय भवनमा क्षति पुगेको छ । स्वास्थ्य संस्थाको भवनमा क्षति पुगेपछि अस्थायी टहरा बनाएर सेवा प्रदान गरिएको छ । विद्यालय दसैंतिहार बिदामा बन्द रहेका विद्यालय त्यसपछि कसरी सञ्चालन गर्ने भन्ने चिन्ता विद्यालय व्यवस्थापन समितिमा छ ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार जाजरकोटमा छ वटा पूर्ण र १२ वटा आंशिक गरी १८ वटा, रुकुमपश्चिमम दुई वटा पूर्ण र २२ वटा आंशिक गरी २४ वटा र सल्यानमा तीन वटा पूर्ण क्षतिसहित कुल ४५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ । स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा.रविन खड्काका अनुसार गाउँका धेरैजसो आधारभूत स्वास्थ्य संस्था र स्वास्थ्य चौकी भूकम्पले क्षति पु¥याएको छ । स्वास्थ्य संस्थाको क्षति अवस्था अनुगमन गर्ने काम भइरहेकोले यो सङ्ख्या केही बढ्ने जनाइएको छ ।
ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाको भवनमा क्षति पुगेपछि सेवा प्रवाहमा समस्या भएको छ । भवन क्षति भएकोमा अस्थायी रूपमा बाहिर त्रिपाल राखेर स्वास्थ्य सेवा दिन सुरु गरिएको निर्देशक खड्काले बताए। भूकम्पपछि चिसो मौसम बढ्दै गएकोले बालबालिका, गर्भवती र ज्येष्ठ नागरिक बढी प्रभावित हुने, पानीबाट लाग्न सक्ने रोगको प्रकोप, मानसिक समस्या बढ्न सक्ने सम्भावना रहेको उनको भनाइ छ ।
भूकम्पबाट २०८ वटा विद्यालयमा पूर्ण क्षति पुगेको छ । करिब ३० प्रतिशत विद्यार्थी भूकम्पबाट प्रभावित भएको जनाइएको छ । जाजरकोटमा १७३ र रुकुमपश्चिममा ३५ वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार जाजरकोटमा पूर्ण र आंशिक गरी ५८१ वटा र रुकुमपश्चिममा पनि पूर्ण र आंशिक गरी ४५ वटा विद्यालय भूकम्पका कारण क्षतिग्रस्त भएको छ । मन्त्रालयका अधिकृत बलवीर सुनारले जाजरकोटमा २०८ वटा पूर्ण र ४१८ वटा आंशिक तथा रुकुमपश्चिममा ३५ वटा पूर्ण र १० वटा आंशिक रूपमा विद्यालयमा क्षति पुगेको बताए । भूकम्पका कारण जाजरकोटमा २२ हजार ७५९ जना र रुकुमपश्चिममा १७ हजार ३५१ गरी कुल ४० हजार ११० जना विद्यार्थी प्रभावित हुन पुगेको मन्त्रालयले जनाएको छ । गोरखापत्रबाट