म्याग्दी। मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाकाको नेपालतर्फ सुरक्षाकर्मीहरूको आश्रयका लागि अस्थायी संरचना तयार गरिएको छ । लोमान्थाङका जनप्रतिनिधि र सशस्त्र बोर्डर आउट पोष्ट (बिओपी)को रोहबरमा चीनले दशगजा क्षेत्रको नेपाली भूमिमा कन्टेनर सुविधाको पूर्वाधार संरचना तयार गरेको हो ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वुगुरुङले २० फिट लम्बाइ र दश फिट चौडाइका झ्याल र ढोका भएका सिसाबाट बाहिर हेर्न सकिने पाँच प्रिफेव कन्टेनर जडान गरिएको जानकारी दिए ।
चीनले उपलब्ध गराएको कन्टेनरमा सुरक्षा निकायको टोली र कोरला नाका जाने पर्यटक प्रतिकूल मौसम हुँदा आश्रय लिन सक्नेछन् । भन्सारको कारोबार तथा जाँच लोमान्थाङ–२ नेचुङको कार्यालयबाट गर्ने तयारी भएको छ । सोमबारदेखि कोरला नाका सञ्चालन भइसकेको छ।
लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा परिचयपत्रका आधारमा आवतजावत गर्न पाउने भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को असोज पहिलो साता भएको भ्रमणका क्रममा चीनले कोरलालगायत नेपालका १४ वटा व्यापारिक नाका सञ्चालनको तयारी गरेको जनाएको थियो ।