मकवानपुर। उत्तरी मकवानपुरको थाहा नगरपालिका–६, स्थित वज्रवाराही मन्दिरको संरक्षण र प्रवर्धन जनस्तरबाट गरिने भएको छ । वज्रवाराही मन्दिर जाने सिँढी मर्मतसँगै मन्दिर परिसरको जीर्णोद्धारपछि नयाँ मूर्ति प्रतिस्थापनसँगै मन्दिरसम्म पुग्ने सिँढी जनस्तरबाट निर्माण गर्न लागिएको हो ।
थाहा नगरसँगै आसपासका क्षेत्रको शक्तिपीठका रूपमा रहेको वज्रवाराही मन्दिर जाने सिँढी मर्मत र मन्दिरपरिसरको जीर्णोद्धार कार्य थाहा नगरपालिका–६ को कार्यालयको बजेट तथा नेवाः पुचः, वज्रवाराही र स्थानीय समाजसेवी नारायणबहादुर जोशीको सहयोगसहित करिब ४० लाख रुपियाँको लागतमा गरिएको थियो ।
मन्दिर क्षेत्रलाई धार्मिक महत्वको पर्यटकीय गन्तव्य स्थल बनाउने गरी विस्तृत परियोजना प्रस्ताव (डिपिआर) अनुसार नयाँ संरचना बनाउने तयारी सुरु गरिएको बताइएको छ।
मूर्ति प्रतिस्थापन र मन्दिरसम्म पुग्ने सिँढी निर्माणका लागि करिब डेढ करोड रुपियाँको लागत अनुमान गरिएको छ । हाल मन्दिर फेदीमा रहेको र टुप्पोमा मन्दिर थियो भन्ने विश्वास र आस्थाका साथ पुज्ने गरिन्छ । ८० फिट अग्लो मूर्ति राख्नेसँगै मन्दिरसम्म पुग्न ८०६ वटा सिँढी निर्माण गर्ने तयारी गरिएको छ ।