काठमाडौं। जाजरकोटका भूकम्प पीडितका लागि अस्थायी आवास निर्माण गर्न एमालेले स्वयंसेवक परिचालन गरेको छ। आइतबार एमालेको स्वयंसेवक टोली जाजरकोट प्रस्थान गरेको हो।
केन्द्रीय सदस्य तथा पार्टीको केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयं सेवा विभागका प्रमुख किरण पौडेलको नेतृत्वमा एक हजार स्वयंसेवक टोली जाजरकोट पुगेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेल लगायत नेताले अस्थायी घरटहरा निर्माणका लागि आवश्यक औजार लगायत सामग्री प्रदान गरी शनिबार टोलीको बिदाइ गरेका थिए।
कात्तिक २२ मा बसेको एमालेको सचिवालय बैठकले भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम लगायत जिल्लामा स्वयंसेवक खटाउने निर्णय गरेको थियो।