धनगढी। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले धनगढी विमानस्थलको धावन मार्गका लागि चाहिने जग्गा अधिग्रहणको काम तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ। धनगढी विमानस्थलको सोमबार निरीक्षण गर्दै उहाँले आवश्यक जग्गा अधिग्रहणको प्रक्रियासहितको फाइल तत्काल मन्त्रालयमा पेश गर्न निर्देशन दिनुभएको हो।
विमानस्थलका प्रमुख रामकृृष्ण भट्टका अनुसार निरीक्षणकै क्रममा मन्त्री आलेले विमनस्थलमा रहेका पुराना भौतिक संरचनादेखि अन्य नयाँ निर्माण गर्नुपर्ने संरचनाका विषयमा पनि लेखेर पठाउन निर्देशन दिनुभएको छ। नागरिक उड्डयन प्राधिकरणले उक्त विषयका सबै फाइल तयार गरी केही दिनमा मन्त्रालयमा पेश गर्नेछ।
धनगढी विमानस्थल विस्तारका लागि कूल ३११ बिघा जग्गा आवश्यक छ। यसका लागि २२८ बिघा जग्गा अधिग्रहण गर्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालय धनगढीले जनाएको छ। क्षेत्रीयस्तरको विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहणको काम गर्न सुरु गरिएको हो।
यही क्रममा मन्त्री आलेले विमानस्थलमा यात्रुलाई राख्ने ठाउँ साघुँरो भएकाले त्यसलाई फराकिलो बनाउन पनि निर्देशन दिनुभयो। उहाले भन्नुभयो, पहाडी जिल्लामा हवाइ उडान सुरु भएकाले यात्रुको चाप बढेको छ। विमानस्थलमा यात्रु बस्ने ठाउँ अभाव भएको छ।