काठमाडौं। नेपाली कांग्रेसले भूकम्पपीडितका लागि घर बनाउन २५ वटा स्वयमसेवकको टोली प्रभावित क्षेत्रमा पठाउने भएको छ। कांग्रेसको सोमबार बसेको पदाधिकारी बैठकले एक हजार घर बनाउन इन्जिनियर र डकर्मीसहित स्वयमसेवकको २५ वटा टोली प्रभावित क्षेत्र पठाएर श्रमदान गर्ने निर्णय गरेको हो।
बैठकले रुकुम पश्चिम र जाजरकोटका भूकम्पपीडितलाई टहरा बनाउन २५ वटा स्वयमसेवक टोली पठाउने निर्णय गरेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माल जानकारी दिए । एउटा टोलीमा १० जनाका दरले स्वयमसेवक पठाउने निर्णय भएको बताइएको छ।
प्रभावित क्षेत्रमा टहरा बनाउन पठाउने भनिएको प्रत्येक टोलीमा एक जना इन्जिनियर, एक जना डकर्मी र एक जना व्यवस्थापक सहित १० जना रहने छन्।
उक्त टोलीले सुत्केरी र वृद्धवृद्धा रहेका परिवारलाई प्राथमिकतामा राखेर टहरा निर्माण कार्य अगाडि बढाउने बताइएको छ।