तानसेन। कालीगण्डकी र रिडी खोला नियन्त्रण गर्नका लागि तटबन्ध निर्माण गर्न सुरु गरिएको छ। रुरु क्षेत्रलाई नेपालकै प्रमुख तीर्थस्थलका रूपमा विकास गर्न लुम्बिनी प्रदेश सरकारले रुरु क्षेत्र गुरु योजनामार्फत पहिलो चरणको काम सुरु गरेको हो।
लुम्बिनी प्रदेश सरकारले २०७६ सालमा गुरु योजना निर्माण गरी पहिलो चरणमा रिडी खोला र कालीगण्डकी नदीमा तटबन्ध निर्माणको काम सुरु गरेको थियो। रुरु क्षेत्र गुरुयोजना कार्यान्वयनका लागि ३ अर्ब बजेट लाग्ने उल्लेख गरिएको भए पनि पहिलो चरण तटबन्ध निर्माणको काम भइरहेको छ। यस वर्ष काम सम्पन्न गर्नका लागि पाल्पा, गुल्मी र स्याङ्जावासी सक्रिय भएर लागेका छन्।
तटबन्ध गरेपछि गुल्मीतर्फ रडि बजार र पाल्पातर्फ ऋषि केशव मन्दिर तर्फको भूभाग सुरक्षित हुनेछ। तटबन्धबाट करिब २ सय रोपनी जग्गा सुरक्षित हुनेछ। गुरुयोजनाको दोस्रो चरणमा दुवैतर्फ व्यवस्थित शवदहन स्थल, स्नान कक्ष, ऋषिकेशव मन्दिर क्षेत्रमा जग्गा अधिग्रहण गर्ने, नदी किनारमा विश्राम स्थल, भजन किर्तन गृह, धर्मशाला, मठ मन्दिरहरू निर्माण गर्ने कार्यक्रम रहेको छ।
तेस्रो चरणमा कालीगण्डकी नदीमा ड्याम बाधेर ताल निर्माण गर्ने र नियमित रूपमा डुंगा सञ्चालन गर्ने योजना रहेको बताइएको छ।