काठमाडौं। गत शुक्रबार र शनिबार पदयात्राका लागि घान्द्रुक र सिक्लेस पुगेका पर्यटकको व्यवस्थापन गर्न पर्यटन व्यवसायीलाई हम्मेहम्मे प¥यो । एकैदिन २ हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटक पुगेपछि उनीहरुलाई सुताउन र खाना खुवाउन व्यवसायीहरु २४ सैँ घण्टा व्यस्त भएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिले जनाएको छ।
अन्नपूर्ण क्षेत्र पनि यतिबेला चलायमान बनेको छ । त्यस क्षेत्रमा कात्तिकयता २४ हजार पर्यटक पुगेका छन् । पर्यटकको सङ्ख्या अत्यधिक हुँदा लामो समयपछि पदमार्गमा आश्रित पर्यटन व्यवसायीको व्यस्तता पनि बढेको छ । यसरी घुम्न आउनेमा दक्षिण एसियाली मुलुकका सात हजार चार सय ७९ र अन्य १६ हजार नौ सय ३० पर्यटक छन् । अन्नपूर्ण संरक्षण क्षेत्र ‘एक्याप’का प्रमुख डा रविन कडरियाका अनुसार २०८० साल सुरु भएयता वैशाख र असोजपछि कात्तिकमा सबैभन्दा बढी पर्यटक ‘एक्याप’ पुगेका छन् ।
दसैँ र तिहार मनाएर पहाड र हिमाल छिचोल्दै रम्नेहरुको सङ्ख्या पछिल्लो समय बढ्न थालेको छ । कुनै समय अधिक मात्रामा विदेशी पर्यटकहरु ‘ब्यागप्याक’ बोकेर हिमाल हेर्न पुग्ने गरेको भए पनि पछिल्लो समय आन्तरिक पर्यटकहरुको चहलपहलले त्यस्ता क्षेत्रमा पर्यटनको सम्भावना बढाएको छ । तिहार लगत्तै पर्यटकीय नगरी पोखरा पनि पर्यटकले भरिएको छ । काठमाडौँ–पोखरा रुटमा एयरलाइन्सको टिकट पाउन मुस्किल छ ।
बङ्गलादेश, भियतनाम, चीन र भारतलगायत मुलुकबाट विमान चार्टर्ड गरी पर्यटक आउने क्रम बढेकाले कोरोना महामारीपछि मुलुकको पर्यटन क्षेत्रमा उत्साह थपिएको जानकारहरु बताउँछन् । नेपालको पर्यटन क्षेत्रबारे पछिल्लो समय अन्तर्राष्ट्रिय क्षेत्रमा पनि चर्चा हुन थालेको, विशिष्ट पाहुनाको नेपाल भ्रमण, अन्तर्राष्ट्रिय सभा तथा सम्मेलनले पनि नेपालको पर्यटन क्षेत्रमा थप टेवा पुगेको छ।